-->
गोजमुमो समष्टि अध्यक्षले भरे निर्दलीय प्रार्थिको रूपमा नामाङ्कन

गोजमुमो समष्टि अध्यक्षले भरे निर्दलीय प्रार्थिको रूपमा नामाङ्कन

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ, २४ अप्रेल। नगरपालिका चुनावलाई लिएर राजनैतिक पार्टीभित्रै विद्रोह सुरु भएको छ। राजनैतिक पार्टीभित्र टिकटलाई लिएर विद्रोह हुनेक्रममा कालेबुङमा गोर्खा जनमुक्ति मोर्चा पहिलो नम्बरमा आएको छ। 
नगरपालिका चुनावका निम्ति गोजमुमो पार्टीले कालेबुङ नगरपालिकाको 23 नम्बर वार्डबाट सही उम्मेद्वार नदिएको भन्दै समष्टि अध्यक्ष शेखर मेकडोनाल्डले निर्दलीय प्रार्थीका रूपमा नामाङ्कन पत्र दर्ता गरेर पार्टीभित्रै विद्रोह गरेका छन्। 
23 नम्बर वार्डका मानिसहरूको उपस्थितिमा शेखर मेकडोनाल्डले गोजमुमो प्रार्थी लहमु भोटियाको विरुद्धमा निर्दलीय प्रार्थीका रुपमा आज अन्तिम दिन नामाङ्कन पत्र दर्ता गरेका हुन्। जसको कारण कालेबुङ नगरपालिकाको 23 नम्बर वार्डमा गोजमुमो बनाम गोजमुमो पार्टीभित्र नै मत विभाजन हुने छाँट बनेको छ। 
गोजमुमो अध्यक्ष विमल गुरुङले अघिबाटै 23 नम्बर वार्डबाट नारी मोर्चाका लहमु भोटियालाई प्रार्थीको टिकट दिएपछि वार्डका मानिसहरू असन्तुष्ट बनेका थिए। वार्डका जनताले गोजमुमो प्रार्थीसँग सन्तुष्ट नबनेपछि बोङ दुर्बिन समष्टिका गोजमुमो अध्यक्ष शेखर मेकडोनाल्डले पार्टीकै प्रार्थी विरुद्ध आफ्नो उम्मेद्वारिता दिएका छन्। उनले आज अन्तिम दिन वार्डवासीको उपस्थितिमा नामाङ्कन पत्र दर्ता गरेपछि आफ्नो जित निश्चित रहेको दाबी समेत गरेका छन्। 
यसक्रममा उनले आफुलाई पार्टीले निश्कासित गरे कुनै फरक नपर्ने दाबी समेत गरेका छन्। ‘मेरा गाउँलेहरूले पार्टीले दिएको प्रार्थीलाई रूचाएका छैनन्। जसको कारण गाउँलेहरूको आग्रहमा मैले निर्दलीय प्रार्थीका रूपमा नामाङ्कन पत्र दर्ता गरेको हुँ’ शेखर मेकडोनाल्डले भने। 
‘दौड सुरु भएको छ अनि दौडमा मलाई सम्पूर्ण गाउँका बासिन्दाले साथ दिएका छन्। गाउँलेहरूको सहयोगमा जित हुने निश्चित छ’ उनले अझ भने। 
यसक्रममा भविष्यमा आफुलाई निर्दलीय प्रार्थीका रूपमा खडा भएको कारण पार्टीबाट निस्काशित गरे कुनै फरक नपर्ने पनि उनले बताएका छन्। ‘पार्टीले भविष्यका निस्काशित गरे मेरो भन्नु केहि छैन। भोलिको दिनमा मलाई मेरै गाउँ समाज र गाउँलेहरू चाहिन्छ। यसकारण गाउँ समाजको निम्ति मैले यो कदम उठाएको हुँ’ उनले स्पष्ट पारे।

0 Response to "गोजमुमो समष्टि अध्यक्षले भरे निर्दलीय प्रार्थिको रूपमा नामाङ्कन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.